दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा दयाहाङ राई र नम्रता श्रेष्ठले ’वरदान’ नामक सर्ट फिल्ममा अभिनय गरेका छन् । यो सर्ट फिल्मको छायांकन शनिबार ललितपुरमा सकिएको छ । यसै फिल्म मार्फत दयाहाङ र नम्रताले लामो समयपछि एउटै फिल्ममा अभिनय गरेका हुन् ।
मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय फिल्ममा उठाइए निर्देशक लामाले बताएका छन् । विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा दर्शकले हेर्न पाउनेछन् । मुख्य भूमिका नम्रताले निर्वाह गरेकी छिन् । फिल्म कोसिस नेपालले निर्माण गरेको हो ।
यता फिल्मको कथावस्तु मन परेर नै अभिनय गर्न आफू तयार भएको नम्रताले बताएकी छिन् ।
करिब २० मिनेट अवधिको हुने फिल्ममा नम्रता र दयाहाङसहित प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय गरेका छन् ।
शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको फिल्म केही हप्तापछि रिलिज गरिनेछ ।