विश्व स्वास्थ्य संगठनअन्र्तगतको कोभ्याक्सबाट पाउने भनिएको कोरोना भाइरसविरुद्धको खोप फागुनको पहिलो सातादेखि आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भाइरसविरुद्धको खोपको विकास भएसँगै संगठनले विपन्न मुलुकहरूलाई दिने भनिएको खोप फागुनको पहिलो सातादेखि नेपालले पाउने छ । मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले केही समयभित्र नै कोभ्याक्सबाट पहिलो चरणमा खोप नेपाल ल्याइने पुष्टि गर्नुभयो ।
अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नै यो सुविधाअन्तर्गत आउने डा. अधिकारीले बताउनुभयो । नेपालले आपतकालिन स्वीकृति दिएको र खोप अभियानअन्तर्गत लगाउन सुरु गरिरहेको खोप भएकाले कोभिसिल्ड नै आउने उहाँको भनाइ छ । उहाँका अनुसार कोभ्याक्सबाट नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप पाउने छ ।