बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ । बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवा स्थित नारायण स्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको हो । जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १२ वर्षमा समेत निवारण नहुने पक्का भएको छ ।
हात्तीपाइले रोग निवारणका लागि हालै गरिएको चौथो पटकको नमूना परीक्षणमा नारायण स्थानमा आठ र जैमिनीको कुश्मि शेरामा दुई जनामा हात्तीपाइलेको जीवाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
नारायण स्थानमा यसअघि पनि हात्तीपाइले भइसकेका तीन जनालाई समेत पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ । चौथो पटकको नमूना परीक्षणमा समेत हात्तीपाइलेको जीवाणु फेला परेकाले बागलुङमा हात्तीपाइले निवारण निकै चुनौतीपूर्ण रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिनुभएको छ ।
नारायणस्थानमा ३०० र कुश्मि सेरामा ३०० जनामा हात्तीपाइलेको जीवाणु परीक्षण गरिएको थियो । नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भए पनि बागलुङ जिल्लासहित नेपालका सात जिल्लामा हालसम्म हात्तीपाइले रोग निवारण गर्न नसकिएको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका सुपरभाइजर सरोज अधिकारीले बताए । विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ ।