काठमाडौँ ।
नेपालमा विश्वव्यापी रुपमा परिचित चेन होटल रमादा ब्राण्ड भित्रिएको छ । कोरोना कहरले थिल्थिलो बनेको पर्यटकीय क्षेत्र ठमेलमा विश्वप्रसिद्ध चेन होटल थपिएको हो । विश्वमा चिनिएको ठमेल क्षेत्रमा हस्पिटालिटी क्षेत्रमा विश्वप्रसिद्ध चेन होटल रमादा ब्राण्डले थप आकर्षण ल्याएको छ । ‘रमादा अनकोर काठमाडौँ ठमेल’ नामक होटलमा विभिन्न उद्योग, पेशा व्यवसायमा संलग्न नेपाली लगानीकर्ता, विदेशमा रहेर व्यवसाय गरिरहेका गैरआवासीय नेपाली एवम् वैदेशिक लगानीकर्तासमेतको संलग्नता छ । रमादाको सञ्चालक अध्यक्षमा पर्यटन व्यवसायी शान्तिरमण पंगेनी र अन्य पाँच सञ्चालक सदस्य हुनुहुन्छ ।
विश्वमा नै करिब ९ हजार संख्यामा होटल आवद्ध रहेको रमादा ब्राण्डलाई सफल उद्यमीहरुको समूहले ठमेलमा भित्र्याइएको हो । ब्राण्डले निर्दिष्ट गरेको गुणस्तरीयता सम्बन्धी मापदण्डलाई पालना गरेर होटल निर्माण गरिएको छ । नियमितरुपमा गुणस्तरीयताकाबारे प्रशिक्षित गर्ने तथा अनुगमन गर्ने गरी ब्राण्डको सम्झौता भएको कम्पनीले जनाएको छ । पर्यटकीय होटलले पाहुनालाई लक्षित सुविधायुक्त कोठा, टेरेशलगायत विभिन्न रेष्टुरेन्ट, सेमिनार हल, पौडीपोखरी, जिम हल आदि होटलमा चाहिने सबै सुविधाको व्यवस्था रहेको छ । ‘रमादा अनकोर काठमाडौँ ठमेल’, ठमेल प्लाजा होटल एण्ड सुइट्स् प्रालिको एक युनिट हो । होटलमा सहयोगी बैंकका रुपमा नबिल बैंकले ऋण लगानी गरेको छ ।
सेयरधनी तथा बैंक लगानीसमेत गरी हालसम्म करिब २ अर्ब रुपैयाँ लगानी भइसकेको छ । निर्धारित योजना अनुरुप यसलाई विस्तार गर्दा ३ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यस कम्पनीमा ३६ जनाको सेयर लगानी छ जसमा विदेशी लगानीकर्ताको रुपमा ग्यालेक्सी नेटवर्क लिमिटेड हङहकङ रहेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिन अघि यो होटलको औपचारिक शुभारम्भ गर्नुभएको हो । कोभिड–१९ महामारी सामान्य भएपछि मुलुकको पर्यटन क्षेत्रले उत्साहपूर्ण रुपमा फड्को मार्ने भन्दै उहाँले व्यवसायीहरुको कामको प्रशंसा गर्नुभएको थियो । मन्त्री ज्ञवालीले कोभिडपछि नेपालको पर्यटन फस्टाउने भएकाले होटललगायत पूर्वाधार विकासमा लगानी बढाइनुपर्नेमा जोड दिए ।
उहाँले पर्यटनको महत्वपूर्ण पाटो होटल क्षेत्रमा ढुक्कका साथ लगानी गर्न पनि व्यवसायीलाई आग्रह गर्नुभएको थियो । नेपाल चेम्बरअफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटक आवागमनलाई सहज तुल्याउने ‘अनअराइभल’ प्रवेशाज्ञा (भिषा) को व्यवस्था गर्न सरकारसमक्ष आग्रह समेत गर्नुभयो । यसका अन्य सञ्चालकहरुमा भिमलाल पौड्याल, भिष्म प्रसाई, जेएन ज्ञवाली, कृष्ण ज्ञवाली र कालिदास गोतामे हुनुहुन्छ ।