काठमाडौं । सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा धान खरिद गर्ने सहकारीले नगद अनुदान पाउने भएका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तोकेको मूल्यमा किसानले धानको बजार पाउने व्यवस्थाका लागि सहकारीहरुलार्ई नगद सहयोग दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
न्युनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका, २०७७ पारित भएसँगै यस्तो व्यवस्था कार्यान्वयनमा आएको मन्त्रालयका एक अधिकारीले बताएका छन् । नयाँ व्यवस्थाअनुसार इच्छुक सहकारीहरुले किसानबाट न्युनतम मूल्यमा धान खरिद गर्दा अब प्रतिक्वीन्टल एक सय १२ रुपैयाँ सरकारबाट अनुदान पाउने छन् ।
सहकारीका प्रतिनिधिहरुसँग कृषि मन्त्रीले धेरै पटक छलफल गरेपछि मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । करिब १७५ सहकारीहरुले करिब डेढ लाख मेट्रिक टन धान खरिद गर्न सक्ने आसय व्यक्त गरिसकेको मन्त्रालयले जनाएको छ ।