काठमाडौं । नेपाल फलामे छड उत्पादक संघले स्पञ्ज बजेटमार्फत् स्पञ्ज आइरनमा भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने व्यवस्था गरिनु स्वागतयोग्य भएको बताएको छ। संघले विज्ञप्ति जारी गरी सरकारले गरेको उक्त व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी चार रूपैयाँले घट्न जाने जानकारी दिएको छ।
साथै, लागत मूल्य प्रतिकेजी चार रूपैयाँ घटाएर फलामे छड बिक्री वितरण गर्नसमेत संघले उद्योगीहरुलाई आग्रह गरेको छ। 'बजेटपछिका तीन हप्तामा अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चा पदार्थ विलेट तथा विलेटको कच्चा पदार्थ स्पञ्ज आइरनमा १२ प्रतिशतभन्दा बढीले मूल्यवृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रतिकेजी चार रूपैयाँ घटाइ फलामे छड बिक्री वितरण गर्नुहुन सम्पूर्ण उद्योगीहरुलाई अनुरोध गर्दछौं,' संघको विज्ञप्तिमा उल्लेख छ।