काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरि घटाएको छ । हिजो बसेको निगमको बैठकले पेट्रोल, डिजल र मट्टितेलको मुल्य २–२ रुपैयाँका दरले घटाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय ८ रुपैयाँमा झरेको छ । यस्तै डिजल र मट्टितेल ९५ रुपैयाँ प्रतिलिटर भएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमबाट पेट्रोल, डिजेल तथा मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ प्रति लिटरका दरले घटाएर समायोजन गरेको आयल निगमले जनाएको छ ।
निगमका अनुसार भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार मुल्य घटाइएको हो । खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको छ । खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर ८० दशमलव ६९ रुपैयाँ घाटा रहेको छ । त्यस्तै निगमले भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर १० दशमलव ४१ रुपैयाँ र डिजलमा १२ दशमलव ३८ रुपैयाँ सस्तो रहेको जनाएको छ ।
मूल्य समायोजनपछि काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ प्रतिलिटर रहेको छ । गएको गत पुस ३ गते निगमले पेट्रोल, डिजल र मट्टितेलको मुल्य २–२ रुपैयाँका दरले घटाएको थियो ।