काठमाडौं । नवनियुक्त सचिवहरुलाई अर्थ मन्त्रालयमा स्वागत गरिएको छ। आइतबार आयोजित स्वागत समारोहमा अर्थमन्त्री जनार्दन शर्माले राजस्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाएका सचिव सुमनराज अर्याललाई स्वागत गरेका हुन् ।
योसँगै अर्थ मन्त्रालयमा उच्च पदस्थ अधिकारीहरुको नयाँ टिमले पूर्णता पाएको छ।
नवनियुक्त सचिवहरुलाई स्वागत गर्दै अर्थमन्त्री शर्माले मन्त्रालयअन्तर्गतका तीन जना सचिवको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट सम्पादन गर्न निर्देशन दिए।
वित्त व्यवस्थापन (मूलतः अर्थोपार्जन), त्यसको समूचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका सचिवहरुबाट आ-आफ्नो विशिष्टता अनुसारको परिणाममुखी भूमिका निर्वाह हुने विश्वास उनले व्यक्त गरे।
त्यस क्रममा मन्त्री शर्माले यसअघि आफूले राजस्व वृद्धि, भन्सार, सार्वजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयमा आफूले माग गरेका योजनाहरु यथाशक्य चाँडो पेस गर्नसमेत निर्देशन गरे।