न्यून चापीय रेखा नेपालतर्फ नजिकिंदै गएकाले नेपालमा मनसुनको मात्रा थप बढ्ने देखिएको मौसमविदले बताएका छन् । न्यून चापीय रेखा नेपाल नजिक हुँदै गएकाले आज रातिदेखि वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । आज रातिदेखि भोलिसम्म मनसुन सक्रिय हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
आज दिउँसो केहीबेर काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा मौसम खुल्ने सम्भावना छ । तर अपराह्नपछि पुनः बदली भई हल्कादेखि मध्यमसम्म वर्षा हुने जनाइएको छ ।